Menu Content/Inhalt
Home arrow समाचार arrow नालामा सरसफाई प्रविधिको प्रदर्शनी
नालामा सरसफाई प्रविधिको प्रदर्शनी PDF Print E-mail
Posted by Administrator   
Sunday, 29 November 2009
Image खानेपानी र सरसफाईको महत्व सम्बन्धि जनचेतना अभिबृद्धि गरी घरेलुस्तरबाटै खानेपानी र सरसफाइ व्यवस्थापनका लागि स्थानीयवासीहरुलाई प्रेरित गर्न काभ्रे जिल्लाको नाला गाविसमा नालाब्यापी सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।

Imageस्थानीय बरिष्ठ नागरिक, महिला, बालबालिका, युवायुवती तथा विद्यार्थीहरुको सक्रियतामा नालाका चोक, सडक, गल्ली, मन्दिर परिसर, ढल, ढुङ्गेधारा, इनार तथा पानीका श्रोतहरुको सरसफाइ गरी सुरु गरिएको उक्त कार्यक्रममा नालास्थित वलाछें टोलमा "सरसफाइ प्रदर्शनी" को पनि आयोजना गरिएको थियो ।
एकीकृत शहरी विकास केन्द्र र नाला एकीकृत विकास समितिद्वारा यूएन हाविटाट र इवाग साण्डेकको सहयोगमा आयोजना गरिएको उक्त प्रदर्शनीले नालावासीका साथै अवलोकनका लागि आएका वरपर क्षेत्रका मानिसहरुलाई पनि खानेपानी तथा सरसफाइ सम्बन्धि विविघ जानकारी प्रदान गर्न सहयोग पुर्याएको छ ।
प्रदर्शनीमा मलचर्पी, फोहरपानी तथा फोहरमैला ब्यवस्थापन प्रणाली, आकासेपानी संकलन प्रणाली लगायत पानी तथा सरसफाइ व्यवस्थापनका विभिन्न प्रविधिका नमूनाहरु प्रदर्शनीमा राखिएको थियो ।
उक्त कार्यक्रममा कुचो, खरेटो, सावेल, खर्पन, दिसा पिसाब गर्ने पित्तल तथा सिलेवरका कोप्रा, फिकदानी, प्लाष्टिक संकलन गर्ने सुइरो जस्ता सरसफाइका लागि प्रयोग गरिने परम्परागत विभिन्न औजार तथा बस्तुहरु पनि प्रदर्शन गरिएको थियो ।
आधुनिक रुपमा तयार गरिएको कम्पोष्ट मल बनाउने भाँडाका साथै घरेलुस्तरमा कुहिने फोहरमैलाबाट कम्पोष्ट तयार गर्ने विधि तथा कम्पोष्ट मलका नमूनाहरु पनि प्रदर्शन गरिएको थियो ।
स्थानीयवासीहरुलाई सुरक्षित खानेपानीको महत्व र पानी शुद्धिकरणका विधिबारे जानकारी दिन खानेपानी शुद्धिकरणका सामाग्रीहरु पनि प्रदर्शनीमा राखिएको थियो । पानी शुद्धिकरण गरी पिउने सुझाब दिँदै कार्यक्रमका स्वयंसेवकहरुले घरेलुस्तरमा पानी शुद्धिकरण गर्ने क्लोरिन झोल "पियुष" पनि सुपथ मूल्यमा वितरण गरेका थिए ।
प्रदर्शनीमा महिला समुहका सदस्यहरुले खेर गएको प्लाष्टिकबाट तयार गरेका सुकुल, गुन्द्री तथा ढक्कीहरुको समेत प्रदर्शन तथा बिक्रिका लागि राखेका थिए । त्यसै गरि मानव मूत्रबाट तयार गरिएको पाउडर मल बनाउने यन्त्रले प्रदर्शनीमा विशेष स्थान पाएको थियो ।
Image हाल नालामा एकीकृत शहरी विकास केन्द्र र नाला एकीकृत विकास समितिको सहकार्य तथा युएन हाविटाट र इवाग साण्डेकको सहयोगमा घरधुरी केन्द्रीत सरसफाइ कार्यक्रम पहिलो चरणमा संचालन भइरहेको छ । नालामा आयोजना गरिएको उक्त प्रदर्शनीले नालावासीहरुमा खानेपानी र सरसफाई सम्बन्धि ज्ञानको अभिबृद्धि गरि घरधुरी केन्द्रीत उक्त सरसफाइ कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मद्दत पुर्याएको आयोजकले बताएको छ ।
Last Updated ( Tuesday, 08 December 2009 )
 
< Prev   Next >